2021 - Surya

Wednesday, February 17, 2021

शोक सभा सम्पन्न

February 17, 2021 0
शोक सभा सम्पन्न

,


२०७७ साल फागुन ६ गते बिहिबार,

मधुवन नगरपालिका वडा नं ८ बाँसपानीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रधानाध्यापक पदमा कार्यरत शिशिरकुमार बस्नेतको अल्पायुमा भएको असामहिक निधनका कारणले मधुवन नगरपालिका शोकमा डुबेको छ । वि.सं. २०२४ साल जेठ १७ गतेका दिन पिता दुर्गाबहादुर बस्नेत र माता बालकुमारी बस्नेतको कान्छो सुपुत्रका रुपमा जन्मिनु भएको उहाँले वि.सं.२०४१ साल  चैत्र २० गते अस्थायी शिक्षक र वि.सं. २०४७ जेठ ०१ देखि प्राथमिक स्थायी शिक्षक भई आनन्द आधारभूत विद्यालय रातामाटेमा लामो समय सेवा गर्नुभएको थियो । वि.सं. २०५७ सालबाट श्री ने.रा. आ.वि. बाँसपानीमा प्रधानाध्यापकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै जाने क्रममा वि.सं. २०७७ साल फागुन ०३ गतेको राती १:२० सदा-सदाको लागि आँखा चिम्लिनु भयो । 

शिक्षण पेसा मात्र नभएर नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक सँस्थामा आबद्ध भइ सामाजिक  क्षेत्रमा समेत सक्रिय रहने  मीठो बोलिका धनी बस्नेतको मृत आत्माको बैकुण्ठ बासको कामना गर्दै मधुवन नगरपालिकाभित्रका सामुदायिक तथा सँस्थागत विद्यालयका प्रधानाध्यापकहरूको मिति २०७७ फागुन ०४ गतेको बैठकले शोक प्रस्ताव पारित गर्दै मिति २०७७ फागुन ०६ गतेका दिन मधुवन नगरपालिकाका सबै सामुदायिक र सँस्थागत विद्यालयले शोक सभा गर्ने निर्णय समेत गरको थियो ।


प्रधानाध्यापक बैठकले गरेको निर्णय बमोजिम एउटा असल सहकर्मी, कुशल  शिक्षकको मृत आत्माको शान्तिको कामना गर्दै बैकुण्ठमा बास होस र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भन्ने कामनासहित मधुवन नगरपालिका वडा नं. २ स्थित श्री सूर्य आधारभूत विद्यालयमा पनि शोक सभा सम्मन्न भयो । शोक सभामा विद्यालयका प्रधानाध्यापकले जन्मपछि मृत्यु अनिवार्य रहेको तर राम्रा काम गर्न सकेमा पछिसम्म पनि धेरैको मनमा बस्न सकिने प्रसङ्गलाई जोड्दै सबैले असल काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Friday, February 12, 2021

बाल व्यवहार र अग्रजको भूमिका

February 12, 2021 0
बाल व्यवहार र अग्रजको भूमिका


बाल व्यवहार र अग्रजको भूमिका

 “ आहा ! कति राम्रो बच्चा । बाटोमा हिँडदै गर्दा चाहे कुकुरको होस् वा कुखुराको, बाख्राको होस् वा बंगुरको, चाहे मान्छेको होस् वा अरू कुनै प्राणीको बच्चा होस्,  देख्ने बित्तिकै प्रायः हामी धेरैको मुखबाट निस्कने वाक्य हो यो ।  हरेकका साना बच्चा राम्रा मान्छिन् । ऊ प्रति हाम्रो माया पलाउँछ । नजिक गएर खेलाइहालौं झै लाग्छ । खेलाइरहँदा हाम्रो शरीरमा आची गरिदिँदा पनि ऊ निर्दोष ठहरिन्छ । उसको तोते बोलीमा जादु भेटिन्छ । सुनुसनु झैँ लाग्छ । समग्रमा त्यो बच्चा सबैको प्यारो हुन्छ । समय दौडिँदै जान्छ । 

सोही समयको दौडानसँगै त्यही बच्चा अलि ठूलो हुँदै जान्छ । अनि हामी त्यही उसको जादुमय बोलीमा जिद्दीपन देख्न थाल्छौं । उसका क्रियाकलापभित्र उदण्डता भेटन थाल्छौं । उसका धेरै प्रश्नहरू देखि झर्को मान्न थाल्छौ । हामीलाई मनपर्ने वा  स्वीकार हुने व्यवहार प्रदर्शन गरे ठीकै छ । तर अलिकति  कमजोरी देखिएमा पनि ठुलै गल्ति गर्यो भन्ने सोच विकसित गर्न पुग्छौं । उसका साना गल्तिलाई  तिलको पहाड बनाएर ऊ माथि खनिने गर्दछौँ । उसका साना-साना कमजोरीलाई कोट्याई-कोट्याई उसलाई तनाव दिन पछि पर्दैनौं तर हामी कहिलेकाहीँ आफूले सामाजिक, पारिवारिक रूपमा अपाच्य कर्म गर्दा कहाँनिर चुक्यौं ख्याल गर्दैनौ । हाम्रै  कामको अनुशरण गरेर हजुरले गरेकै कार्य त मैले गरेको हो निभनेर भन्यो भने मुखाले र अनुशासनहीनको बिल्ला भिराउन पाउँदा आफैलाई महान ठान्न पुग्छौं । आफ्नो अहंकार प्रस्तुत गरिहाल्छौं । हाम्रा यस्तै व्यवहारले बालबालिकाको अन्तरस्करणमा चोट पुगी उनीहरूमा सकारपन ओझेल पर्दै नकारपनले मलजल पाउन कति समय लाग्ला र ? सुध्रनका लागि मिठो बोलीको साटो निरूत्साही व्यवहार मात्र प्रस्तुत गर्नाले उनीहरू समाजको दुस्ट पात्र बन्न के बेर ? सँधै अरूका उदाहरण मात्रै दिएर अरू जस्तै बनाउन खोजे उनीहरूका मौलिक प्रतिभा कहिले प्रस्फुटन हुने ? उनीहरूका कुरा तथा समस्या हामी अग्रज वा शिक्षकले नसुने कसले सुनिदिने ? यी र यस्ता यावत प्रश्नहरू आज हाम्रो अगाडि उभिएका छन् । जसको उत्तर खोज्नका लागि हामी अग्रजका काँधमा महत्वपूर्ण जिम्मेवारी आएको छ । बालबालिकाको व्यवहार र स्वभाव कस्तो बनाउने भन्ने कुरा हाम्रो दायित्वभित्र पर्न आएको छ ।


बालबालिका भनेका काँचो माटो हुन् । जसको अहिले कुनै आकार-प्रकार हुँदैन । उसलाई कुन आकार दिने, कस्तो रङ्ले सजाउने एवम् कुन उदेश्य प्राप्तितर्फ उन्मुख गराउने जस्ता पक्षहरूलाई मध्यनजर गर्दै अब हामी आफ्नो अभिमानका लागि बालबालिकाको अपमान नगरी उनीहरूलाई सम्मान गर्न सिकौं । बालबालिकासँग सरोकार राख्ने नीति तथा कार्यक्रममा उनीहरूलाई पनि सहभागिताको अवसर जुटाउँदै घरपरिवार, विद्यालयभित्र वा बाहिर पनि बालमैत्री व्यवहारलाई जोड दिउँ । हामी अग्रजहरूले आफू जस्तो सुकै आचरण गरे पनि बालबालिकालाई संस्कारी बनाउन सकिन्छ  भन्ने गलत सोँचाईलाई परिमार्जित गर्न सक्नुपर्छ । किनकी  अहिलेको युग धाक धम्कीको युग नभएर सौहार्दताको युग हो । कोही कसैभन्दा निर्बलियो भई धम्की सहेर दबिरहन पटक्कै मान्दैन । समयले साथ नदिएर दबेको भएता पनि मौका मिल्नासाथ बदला लिन दाउ हेरिरहेको हुन्छ । अतः झिना मसिना केही बालसुलभ तथा उपद्रवहरूलाई उसको स्वभाविक विकासक्रमको रूपमा बुझी मायालु व्यवहार प्रर्दशन गर्दै उचित मार्ग निर्देशन गर्न सके आजको बालबालिका नै भोलिका समग्र विकासको प्रवाहक बन्न सक्छन् ।

                                            प्रशुराम चौधरी

                                      प्रधानाध्यापक

                         (श्री सूर्य आधारभूत विद्यालय)

                                                                                         

पिपलको रुख

February 12, 2021 0
पिपलको रुख

 

प्रेरक कथा


पिपलको रुख

 
कु
नै एउटा गाउँमा  धेरै पुरानो पिपलको रूख थियो । बाटो ओहोर-दोहोर गर्ने बटुवाहरू थकाइ मार्नका लागि रोकिएर एकछिन त्यो पिपलको बोटमुनी बिसाउने गर्थे । साथै  गाउँका सबै मानिसहरू ज्यादै गर्मी हुँदा  यसको छायाँमा बस्थे । 
गाउँका विभिन्न किसिमका भेला तथा छलफल पनि सोही ठाउँमा बसेर गरिन्थ्यो । अझ कितपय धर्म मान्नेहरू त यसको पूजा पनि गर्ने गर्थे ।

 समय यस्तै बित्दै गयो ।  धेरै वर्ष पछि रूख सुक्न थाल्यो । त्यसका हाँगा भाँचिन थाले र यसको जरा पनि कमजोर हुन थाल्यो ।  गाउँलेहरूले सोँचे कि अब यो रूख काट्नुपर्दछ र यसको काठबाट  घरबारविहीनहरूका लागि घर बनाउनुपर्दछ ।


गाउँलेहरूले आरा र बन्चरोहरू ल्याइरहेको देखेर पिपलको नजिक उभिरहेको एउटा रूखले भन्यो- “काका ! यी मानिसहरूको कामका लागि तपाईं रिसाउनुहुन्न ? यी मानिसहरू कति स्वार्थी छन्, जब उनीहरूलाई तपाईंको खाँचो पर्थ्यो, तिनीहरूले तपाईंको आराधना गरे तर आज उनीहरूले तपाईंलाई भाँच्न र काट्न गइरहेका छन् ।  


पुरानो पिपलले  उत्तर दियो- "छोरा छैन ! म  धेरै खुसी छु कि मेरो मृत्यु पछि पनि म आज कसैको लागि काम लाग्न  सक्षम हुनेछु । " वास्तविक कुरा के हो भने परोपकारीहरू सधैं अरूलाई अनुकम्पा राख्छन् र उनीहरूको खुशीमा खुशी र खुशीलाई विचार गर्छन् ।


Tuesday, February 9, 2021

गृह मन्त्रालयको सुचना

February 09, 2021 0
गृह मन्त्रालयको सुचना


सार्वजनिक बिदा

सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।

यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा मनाइएको तमु ल्होसारको दिन भने सरकारले सम्बन्धित जाती समुदायलाई मात्रै विदा दिएको थियो ।

सरकारले २०५१ सालदेखि सोनाम ल्होछारको दिन बिदा दिँदै आएको थियो । तर २०७४ सालदेखि सो दिनको बिदा कटौती गरेको थियो । सो वर्ष पुरै बिदा दिने गरिएका १० वटालाई आंशिक बनाइएको थियो भने १२ वटा बिदा पूर्णरुपमा कटौती गरिएको थियो ।

साभार :- अनलाइन खबर