बाल व्यवहार र अग्रजको भूमिका
“ आहा ! कति राम्रो बच्चा । ” बाटोमा हिँडदै गर्दा चाहे कुकुरको होस् वा कुखुराको, बाख्राको होस् वा बंगुरको, चाहे मान्छेको होस् वा अरू कुनै प्राणीको बच्चा होस्, देख्ने बित्तिकै प्रायः हामी धेरैको मुखबाट निस्कने वाक्य हो यो । हरेकका साना बच्चा राम्रा मान्छिन् । ऊ प्रति हाम्रो माया पलाउँछ । नजिक गएर खेलाइहालौं झै लाग्छ । खेलाइरहँदा हाम्रो शरीरमा आची गरिदिँदा पनि ऊ निर्दोष ठहरिन्छ । उसको तोते बोलीमा जादु भेटिन्छ । सुनुसनु झैँ लाग्छ । समग्रमा त्यो बच्चा सबैको प्यारो हुन्छ । समय दौडिँदै जान्छ ।
सोही समयको दौडानसँगै त्यही बच्चा अलि ठूलो हुँदै जान्छ । अनि हामी त्यही उसको जादुमय बोलीमा जिद्दीपन देख्न थाल्छौं । उसका क्रियाकलापभित्र उदण्डता भेटन थाल्छौं । उसका धेरै प्रश्नहरू देखि झर्को मान्न थाल्छौ । हामीलाई मनपर्ने वा स्वीकार हुने व्यवहार प्रदर्शन गरे ठीकै छ । तर अलिकति कमजोरी देखिएमा पनि ठुलै गल्ति गर्यो भन्ने सोच विकसित गर्न पुग्छौं । उसका साना गल्तिलाई तिलको पहाड बनाएर ऊ माथि खनिने गर्दछौँ । उसका साना-साना कमजोरीलाई कोट्याई-कोट्याई उसलाई तनाव दिन पछि पर्दैनौं तर हामी कहिलेकाहीँ आफूले सामाजिक, पारिवारिक रूपमा अपाच्य कर्म गर्दा कहाँनिर चुक्यौं ख्याल गर्दैनौ । हाम्रै कामको अनुशरण गरेर “ हजुरले गरेकै कार्य त मैले गरेको हो नि” भनेर भन्यो भने मुखाले र अनुशासनहीनको बिल्ला भिराउन पाउँदा आफैलाई महान ठान्न पुग्छौं । आफ्नो अहंकार प्रस्तुत गरिहाल्छौं । हाम्रा यस्तै व्यवहारले बालबालिकाको अन्तरस्करणमा चोट पुगी उनीहरूमा सकारपन ओझेल पर्दै नकारपनले मलजल पाउन कति समय लाग्ला र ? सुध्रनका लागि मिठो बोलीको साटो निरूत्साही व्यवहार मात्र प्रस्तुत गर्नाले उनीहरू समाजको दुस्ट पात्र बन्न के बेर ? सँधै अरूका उदाहरण मात्रै दिएर अरू जस्तै बनाउन खोजे उनीहरूका मौलिक प्रतिभा कहिले प्रस्फुटन हुने ? उनीहरूका कुरा तथा समस्या हामी अग्रज वा शिक्षकले नसुने कसले सुनिदिने ? यी र यस्ता यावत प्रश्नहरू आज हाम्रो अगाडि उभिएका छन् । जसको उत्तर खोज्नका लागि हामी अग्रजका काँधमा महत्वपूर्ण जिम्मेवारी आएको छ । बालबालिकाको व्यवहार र स्वभाव कस्तो बनाउने भन्ने कुरा हाम्रो दायित्वभित्र पर्न आएको छ ।
बालबालिका भनेका काँचो माटो हुन् । जसको अहिले कुनै आकार-प्रकार हुँदैन । उसलाई कुन आकार दिने, कस्तो रङ्ले सजाउने एवम् कुन उदेश्य प्राप्तितर्फ उन्मुख गराउने जस्ता पक्षहरूलाई मध्यनजर गर्दै अब हामी आफ्नो अभिमानका लागि बालबालिकाको अपमान नगरी उनीहरूलाई सम्मान गर्न सिकौं । बालबालिकासँग सरोकार राख्ने नीति तथा कार्यक्रममा उनीहरूलाई पनि सहभागिताको अवसर जुटाउँदै घरपरिवार, विद्यालयभित्र वा बाहिर पनि बालमैत्री व्यवहारलाई जोड दिउँ । हामी अग्रजहरूले आफू जस्तो सुकै आचरण गरे पनि बालबालिकालाई संस्कारी बनाउन सकिन्छ भन्ने गलत सोँचाईलाई परिमार्जित गर्न सक्नुपर्छ । किनकी अहिलेको युग धाक धम्कीको युग नभएर सौहार्दताको युग हो । कोही कसैभन्दा निर्बलियो भई धम्की सहेर दबिरहन पटक्कै मान्दैन । समयले साथ नदिएर दबेको भएता पनि मौका मिल्नासाथ बदला लिन दाउ हेरिरहेको हुन्छ । अतः झिना मसिना केही बालसुलभ तथा उपद्रवहरूलाई उसको स्वभाविक विकासक्रमको रूपमा बुझी मायालु व्यवहार प्रर्दशन गर्दै उचित मार्ग निर्देशन गर्न सके आजको बालबालिका नै भोलिका समग्र विकासको प्रवाहक बन्न सक्छन् ।
प्रशुराम चौधरी
प्रधानाध्यापक
(श्री सूर्य आधारभूत विद्यालय)
No comments:
Post a Comment